प्येताँ ल्हुताँ अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
- grgy329
- Jun 1
- 3 min read
Updated: Jun 5

हिजो ३१ मे २०२६, आईतबारको दिनमा तमु प्ये ल्हु संघको सामुदायीक भवनमा प्येताँ ल्हुताँ अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । तमु प्ये ल्हु संघ युकेको खेगी समितिको सहकार्य तथा तमु प्ये ल्हु संघ युकेको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा खेगी समितिका अध्यक्ष पच्यु चिवा जीत क्रोम्छे तमु र क्ल्हेप्री चिवा दान म्होब्छे तमुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । पच्यु चिवा जीत क्रोम्छे तमुले तमु समुदायमा पच्यु गुरुबाट सम्पन्न गराईने पूजाआज, औषधीमुलो र यसको प्रभाव शिर्षकमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने क्ल्हेप्री चिवा दान म्होब्छे तमुले मानव जगतमा सात कन्यको उत्पत्ति र श्रृष्टिको निरन्तरतामा महिलाको भूमिका शिर्षकमा प्रस्तुती दिनु भएको थियो ।

संघको अध्यक्ष क्या. डेम बहादुर योज तमुले प्येताँ ल्हुताँ कार्यक्रमको उद्धेश्य र औचित्यको बारेमा प्रकाश पार्दै तमु जातिको संस्कार, सँस्कृति र परम्पराहरु पितापुर्खाहरुको पालादेखि नै निरन्तर अभ्यास गर्दै आएको भएता पनि खास अर्थ र महिमा आदी कुराहरुलाई राम्ररी नबुझेको हुनाले व्यबहारिक अभ्यास गर्ने प्रचलनहरु हराउदै गएको बताउनु भयो । वहाँले प्येमा भएका तथ्य र मान्यताको आधारमा जनमानसलाई बुझाउन र आफ्नो संस्कार सँस्कृतिको बारेमा आधारभूत कुराहरु सबैलाई ज्ञान हुनु पर्ने कुरामा जोड दिदै यस प्रकारको ज्ञानवर्दक र सन्देशमुलक कार्यक्रमहरु निरन्तर सन्चालन गर्नु पर्ने बताउनु भयो । साथै वहाँले उक्त प्येताँ ल्हुताँ अन्तरक्रियात्मक कार्यक्रमले संस्कार सँस्कृतिप्रति भएको जनचासो मेटाउन पनि सहयोग पुग्ने भएकोले आयोजना गरिएको बताउनु भयो ।
कार्यपत्र प्रस्तुत गर्ने क्रममा क्ल्हेप्री चिवा दान म्होब्छे तमुले पृथ्वीमा मानव उत्पत्ति र विकासको क्रममा सबैभन्दा पहिला खेकु अर्थात नौजना पुरुष उत्पत्ति भएको र श्रृष्टिको लागि महिलाको आवश्यकता महशुष गरी ध्यानमा लिन हुँदा सात कन्य अर्थात माङीको उत्पत्ति भएको बताउनु भयो । माघ महिनाको लसी अर्थात औशिको पहिला सातामा सातजना कन्य (महिला) प्रकट हुनु भएपछि सात दिनसम्म पूजाअर्चना गरिएको थियो भन्ने शास्त्रामा उल्लेख भएको बताउनु भयो । यद्धपी के–कस्तो पूजा कसरी गरे भन्ने बारेमा स्पष्ट नभएको बताए ।

त्यसैगरि पच्यु चिवा जीत क्रोम्छे तमुले मानव समुदायमा जीवनकालमा गरिने पूजाआज र औषधिमुलोको महत्व र यसबाट हुने लाभ र राहतको बारेमा प्रकाश पार्नु भएको थियो । यस क्रममा पच्यु चिवाले सहज शिशु जन्मको लागि पानी जपेर पिलाउने, नवजात शिशु र सुत्केरीको सुरक्षाको लागि जीउबार गराउने, पानीको दोखालो मेटाउने, सातो बोलाउने, घरबार गर्ने प्रेतात्माहरुलाई सन्तुलनमा राख्ने पूजाहरु लगायतका सन्दर्भहरुमा आधारभूत जानकारी गराउनु भएको थियो । यसक्रममा कतिपय औषधीमुलो र पूजा गर्ने विधिहरु अभ्यासको अभावमा लोप हुदै गएको समेत बताउनु भयो । आधुनिक जमाना र प्रविधिको विकासले ल्याएको आमूल परिवर्तनको कारण मानव जीवनमा विशेष महत्व राख्ने असंख्य पूजाआज र औषधीमुलोको ब्यवहारिक अभ्यासहरुमा ह्रास आएको समेत बताउनु भयो ।
कार्यपत्र प्रस्तुती पछि उपस्थित जनसहभागीहरुले विविध जिज्ञासाहरु राखेका थिए भने यस प्रकारको ज्ञानवर्धक र सन्देशमुलक कार्यक्रमहरु व्यवस्थित र प्रभावकारी रुपमा धेरैभन्दा धेरै गर्दै जानु पर्ने सुझाव दिएका थिए । त्यसैगरि जनसहभागीबाट सोधिएका जिज्ञासाहरुलाई कार्यपत्र प्रस्तोताहरु पच्यु चिवा जीत क्रोम्छे तमु र क्ल्हेप्री चिवा दान म्होब्छे तमुले जवाफ दिनु भएको थियो ।

खेगी समितिको प्रतिनिधित्व गर्दै पच्यु चिवा जीत क्रोम्छे तमुले आयोजकप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि क्रमिक रुपमा यस किसिमको कार्यक्रमहरु आयोजना गर्दै जानु पर्ने जसले जनमानसलाई आफ्नो संस्कार सँस्कृति बारेमा बुझ्ने र शास्त्र बाचन गर्दै अभ्यस्त तमु खेगीगुरुहरुलाई शास्त्रभित्रको दर्शन र ज्ञानगुनका कुराहरु बुझाउन मौका मिल्ने बताउनु भयो ।

कार्यक्रमको अन्तमा संघका अध्यक्ष क्या. डेम बहादुर योज तमुले कार्यपत्र प्रस्तुत गर्नु हुने खेगीगुरुहरु र उपस्थिति जनसहभागीलाई समग्र रुपमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम प्रभावकारी भएको बताउनु भयो । त्यसैगरि अझ राम्रो तयारी गरी प्राज्ञिक व्यक्तित्वहरु र दर्शनशास्त्रीहरु लगायत धर्मगुरुहरुको सहभागितामा बिचार बिमर्श, प्रवचन, अन्तरक्रिया जस्ता कार्यक्रमहरु गराउदै जाने प्रयासको यो शुरुवाती कार्यक्रम उपलब्धिमुलक रहेको बताउनु भयो ।






Comments