बार्षिक भेटघाट तथा समर बिबिक्यु सम्पन्न
- grgy329
- Jun 28
- 3 min read
Updated: Jun 29

शनिबार, २७ जुन २०२६ का दिन तमु प्ये ल्हु संघ युकेले सदा झैं यस बर्षको बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम सम्पन्न गराएका छन् । तमु प्ये ल्हु संघ युकेको आफ्नै समाज घर, रिडिङमा सम्पन्न भएको उक्त कार्यक्रम संघका अध्यक्ष क्या. डेम बहादुर योज तमुको संयोजकत्वमा आयोजना गरिएको थियो ।
कार्यक्रममा ग्रहदशा शान्ति, समृद्धि प्राप्ती लगायत प्राकृतिक सन्तुलनका लागि बिहानैदेखि तमु पुरोहितहरु पच्यु र क्ल्हेप्री गुरुहरुबाट परम्परागत छ्योप त्हेँ र थासोँ त्हेँ सम्पन्न गराइएको थियो । उक्त पूजाको संयोजन खेगी समितिका अध्यक्ष पच्यु चिवा जीत क्रोम्छे तमुले गरेका थिए भने व्यवस्थापन संयोजन संघका प्रथम उपाध्यक्ष पूर्णबीर प्हच्यु तमुले गरेका थिए । त्यसैगरि पूजामा पच्यु गुरुहरु जीत क्रोम्छे तमु, अमृत ङोप्छे तमु र बुद्धि कुप्छे तमु सरिक थिए भने क्ल्हेप्री गुरुहरु हिरा म्होब्छे तमु र डम्बर टु क्ल्हेप्री तमुको भूमिका रहेको थियो । पूजाको समापन पश्चात क्ष्यु प्ह्रुई ङ्हैब त्हिब ङो बाचन गरी शुद्ध गराइएको थियो भने उपस्थित जनसमुदायलाई प्हैरु लगाई आशिर्वाचन दिएका थिए ।

मनोरन्जन तथा आकर्षण गतिविध तर्फ अन्तर भाई खलक बास्केट बल सुटिङ प्रतियोगिताको आयोजना गरिएको थियो भने क्रोम्छे–त्होर्जे–थिम्चे भाई खलक युकेले प्रथम स्थान हासिल गरी नगद पुरस्कार सहित टिपिएलएस कप उपाधि जितेका छन् भने केप्छे–म्होब्छे–योज भाई खलक युके र ल्होँ/कुप्छे भाई खलक युकेले क्रमशः दोश्रो र तेश्रो भएका थिए । त्यसैगरि आमा समूहको एकल सुटिङ प्रतिस्पर्धा तर्फ यमुना प्हच्यु तमु, बबिता प्हच्यु तमु र पदम माया ल्हेँगे तमुले क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थान हासिल गरी नगद पुरस्कार हात पारेका थिए ।

संघको तृतिय उपाध्यक्ष डम्बर टु क्ल्हेप्री तमुको संयोजकत्वमा आयोजित उक्त बास्केटबल सुटिङ प्रतियोगिता कार्यक्रमको आकर्षक र रोचक खेल थियो भने युवा समितिका अध्यक्ष खिम टु क्ल्हेप्री तमुको संयोजकत्वमा युव समितिले आयोजना गरेको खेलहरु स्पुन रेस र तातो आलुले केटाकेटीहरुलाई खुबै रमाईलो गराएका थिए भने तमु पहिरनलाई कलात्मक रुपमा पहिचान गराउने खालको कलर–पेन्टिङ प्रतियोगिताले स–साना बालबालिकाहरुको कला र भेषभुषा प्रतिको ज्ञान दर्शाएको थियो । साथै मनोरन्जनका लागि समावेश गरिएको यो प्रतियोगिताहरु र पुरस्कारहरुले स–साना बालबालिकाहरुलाई उत्साहित र खुशी तुल्याएको थियो ।

संघका अध्यक्ष क्या डेम बहादुर योज तमु, खेगी अध्यक्ष पच्यु चिवा जीत क्रोम्छे तमु, आमा समूहकी अध्यक्ष बबिता प्हच्यु तमु र युवा अध्यक्ष खिम टु क्ल्हेप्री तमुको संयुक्त बाहुलीबाट दीप प्रज्वलन गरी शुरु गरिएको छोटो औपचारिक कार्यक्रममा हालै क्होला सोँप्रे ट्हो अध्ययन, अवलोकन तथा अन्वेषण भ्रमण सफलता पूर्वक सम्पन्न गरेर फर्किएका भ्रमण टोलीलाई सफलताको शुभकामना सहित क्रेगी–क्रमु ओढाई सम्मान पत्रले सम्मान गरेका थिए भने संघको विभिन्न गतिविधि, कार्यक्रम तथा भवन मर्मत सम्भार कार्यमा खटिएर विशेष योगदान दिनु हुने वयोबृद्ध प्रेम बहादुर प्हच्यु तमु, क्षेत्रिय प्रतिनिधि मान बहादुर केप्छे तमु र महिला प्रतिनिधि कुनमाया ल्होँ तमुलाई क्रमु–क्रेगी सहित सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो । त्यसैगरि पारिवारिक भ्रमणको क्रममा युके आउनु भएको तमु प्ये ल्हु संघ भरतपूर चितवनका पूर्व अध्यक्ष लाल बहादुर म्रु तमु र वहाँकी धर्मपत्नि टेक कुमारी थिम्चे तमुलाई क्रेगी–क्रमु सहित पुष्पागुच्छाले स्वागत–सम्मान गरेका थिए ।

कार्यक्रममा आकर्षण थप्नको लागि राफल ड्र समेत समावेश गरिएको थियो भने डुंगा रेष्टुरेण्ट, अल्डरशोट, जय श्री कृष्ण ज्वैलर्स, हेरो र गोर्खा किचन, अल्डरशोटले क्रमशः पहिलो, दोश्रो र तेश्रो पुरस्कार प्रायोजन गरेका थिए भने संघका तृतिय उपाध्यक्ष डम्बर टु क्ल्हेप्री तमुको सक्रियतामा सम्पन्न उक्त राफल ड्रको पहिलो, दोश्रो र तेश्रो पुरस्कार क्रमशः स्मृती च्हाक्ली तमु, धनरुपा योज तमु र यमुना प्हच्यु तमुले जितको थिए ।

कार्यक्रमको विशेष पक्षका रुपमा लिइएको साँस्कृतिक कार्यक्रममा नेपालदेखि पाल्नु भएका विशिष्ट कलाकारहरुले दमदार प्रस्तुति दिएर भरपुर रमाइलो गराएका थिए भने वरिष्ट गायीका शर्मिला प्हच्यु तमु, कौडा किङ दुर्गा प्हच्यु तमु, प्रशिद्ध गायक तीलक प्ल्हेँ तमु, गायीका मन्जु बिक, सर्मिला ल्हेँगे तमु (सरु) र भ्वाइस अफ नेपाल सिजन सातका दोश्रो रनर अप भर्सटायल गायीका पुनम केप्छे तमुको प्रस्तुतिमा सबैजना मज्जाले झुमेका थिए ।

कार्यक्रमको अन्तमा संघको निमन्त्रणामा पाल्नु भएको कलाकारहरुलाई क्रेगी–क्रमु, फूल र सम्मान पत्रले सम्मान गरिएको थियो भने संघको आमा समूहले समेत सम्मान गरी सम्मानको शोभा तथा कलाकारहरुको हौसला बढाएको थियो । औपचारिक रुपमा कार्यक्रम समापन भएपछि सबै कलाकारहरु सहित संघका पदाधिकारीहरु, आमा समूहहरु रोधीं बसी रमाईलो गरेर कार्यक्रमको समापन गरेका थिए ।
थप फोटो हेर्नको लागि तलको फेसबुक लिंकमा क्लिक गर्नुहोला ।






Comments