तमु प्ये ल्हु संघ युकेको बार्षिक भेटघाट तथा समर बिबिक्यु २७ जुन २०२६ मा हुने
- grgy329
- Jun 1
- 2 min read

हिजो ३१ मे २०२६, आईतबारको दिनमा बसेको बार्षिक भेटघाट तथा समर बिबिक्यु प्रारम्भिक तयारी बैठकले गरेको निर्णय अनुसार तमु प्ये ल्हु संघ युकेको यस बर्षको बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम यही आउँदो २७ जुन २०२६, शनिबारको दिनमा तमु प्ये ल्हु संघ युकेको आफ्नो सामुदायीक भवन, रिडिङमा हुने भएको छ । संघको अध्यक्ष क्या. डेम बहादुर योज तमुको सभापतित्वमा बसेको उक्त बैठकले कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउने उद्धेश्य सहित विशेष तयारी थालेको छ ।
कार्यक्रम स्थलको समेत राम्रो र आकर्षक सजावटको लागि २६ जुन, शुक्रबारको दिनमा हल सजावट तथा सेटअप कार्य शुरु गर्ने योजना बनाएको छ भने बाँकी रहेको कार्यहरु २७ जुन, शनिबारको बिहान १०ः०० बजेभित्र सबै सम्पन्न गराई सक्ने लक्ष्य लिएकोछ । त्यसैगरि कार्यक्रम व्यवस्थापनको लागि राम्रो प्रबन्ध मिलाउनको लागि अपरिहार्य विशेष कामको बाँडफाँड गरेको छ भने अन्य अतिक्ति काम र जिम्मेवारीहरु क्रमशः मिलाउदै लैजाने निर्णय गरेको छ ।
काम बाँडफाँडमा खाना र बिबिक्युको क्याटरिङ व्यवस्था मिलाउनको लागि खाना संयोजक कृष्णकाजी खक्यु तमु र वहाँको सहयोगी मोहन पर्जु तमुलाई कोटेसन आव्हान गरी सुपथ मूल्यमा सुलभ खाना व्यवस्था मिलाउनको लागि जिम्मेवारी दिइएको छ भने ड्रिंक्स् संयोजक केशर प्ल्हेँ तमु र वहाँको सहयोगी लेख ल्हेँगे तमुलाई पर्याप्तमात्रामा आवश्यक सबैखाले पिउने हार्ड ड्रिंक्स र सफ्ट ड्रिंक्सहरुको वन्दोवस्त मिलाउने जिम्मेवारी प्रदान गरिएको छ । त्यसैगरि धार्मिक पूजाको निधो गरेर प्रभावकारी रुपमा पूजा सम्पन्न गराउनको लागि खेगी संयोजक पच्यु चिवा जीत क्रोम्छे तमुलाई पूजाको बारेमा सर–सल्लाह गरेर जानकारी गराउन अनुरोध गरिएको छ भने कार पार्किङ र सुरक्षा व्यवस्था सुनिश्चित गराउनको लागि सुरक्षा संयोजक चन्द्र बहादुर योज तमुलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा मनोरन्जनको पाटोमा साँस्कृतिक संयोजक जुम टु क्ल्हेप्री तमु र वहाँको सहयोगी बिमला प्हच्यु तमुलाई साँगीतिक धमाकाको जिम्मेवारी दिइएको छ भने अतिथि कलाकारको रुपमा शर्मिला (सरु) गुरुङ, तिलक गुरुङ र मन्जु बि.क. लाई आमन्त्रण गर्ने निर्णय गरेको छ । राफल ड्र, प्रतियोगितात्मक एवं रमाईलो खेलहरुको राम्रो व्यवस्था मिलाई आकर्षक र रमाईलो प्रदर्शनीको लागि तृतिय उपाध्यक्ष डम्बर टु क्ल्हेप्री तमुलाई जिम्मेवारी दिएको छ । त्यसैगरि साउण्ड सिस्टम र टिकेट प्रिन्टिङको लागि कोषाध्यक्ष याम प्हच्यु तमु र सहकोषाध्यक्ष झक पर्जु तमुलाई अनुरोध गरिएको छ भने अन्य सचिवालय कामकाजका तयारी एवं प्रचार प्रसारको जिम्मेवारी सचिव भेग च्हाक्ली तमु र सहसचिव दिलिप तेलैंजे तमुलाई दिएको छ ।
आमा समूहलाई विशेष सहयोगीको रुपमा सजावट र सत्कार कार्यको जिम्मेवारी दिइएको छ भने कार्यक्रमको समग्र संयोजन अध्यक्ष क्या. डेम बहादुर योज तमुले गर्ने भएको छ । त्यसैगरि रिस्क एसेस्मेन्ट र एसाईन्मेन्ट ईन्स्ट्रक्सन तयार पार्ने जिम्मा पनि वहाँले नै लिनु भएको छ भने अन्य कार्य विभाजन तथा भूमिकाहरुको बारेमा भने एसाईन्मेन्ट ईन्स्ट्रक्सनमा नै तोकिने भएको छ ।
यो बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रमको अन्तिम तयारी बैठक आगामी आईतबार ७ जुन २०२६ मा बस्ने भएको छ । जुन भर्चुअल रुपमा जुम माध्यमबाट हुनेछ ।







Comments