top of page

ल्हु–ल्होसार मनाउने तयारीमा तमु प्ये ल्हु संघ युके

Nov 8
1 min read

तमु प्ये ल्हु संघ युकेले तमु जातिको महान पर्व ल्होसारलाई महोत्सवको रुपमा विशेष पूजाआजा सहित धुमधामले मनाउने तयारी थालेको छ । आगामी ३० डिसेम्बर २०२६, बुधबारको दिनमा एक बर्गचक्र पुरा गरी पुनः शिर्षस्थानमा आउने भेँडा बर्गलाई स्वागत गरेर ल्हु–ल्होसार मनाउने निर्णय गरेको हो ।


संघको अध्यक्ष क्या. डेम बहादुर योज तमुको संयोजकत्वमा आयोजना गर्न लागिएको उक्त ल्हु–ल्होसार महोत्सव हेरो लेजर सेन्टर हेरो लण्डनमा हुने भएको छ भने प्रमुख अतिथिको रुपमा नेपाली एम्बेसी लण्डनका कार्यवाहक राजदुत विपिन दुवाडीलाई आमन्त्रण गरिएको छ । त्यसैगरी बेलायतमा क्रियाशिल विभिन्न संघ–सँस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई अतिथिको रुपमा बोलाउने निर्णय समेत गरेको छ ।


पूजा, औपचारिक र साँस्कृतिक गरी तीन चरणमा गरिने कार्यक्रममा वोन धर्म अन्तर्गतका धर्मगुरुहरु पच्यु गुरु र क्ल्हेप्री गुरुहरुको समूहले छ्योप, थासोँ र पार्क पूजा गरेर घोडा बर्गको बिदाई र भेँडा बर्गको स्वागत गर्दै मानव र जगतको भलाईका लागि स्वस्ती–शान्ति गराइनेछ भने प्हैरु र छैरु लगाई दिएर ग्रहशान्ति र रोकबार गराइनेछ ।


साँस्कृतिक कार्यक्रमलाई श्रोतामुखी र संगीतमय बनाउनको लागि स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ भने नायिका लक्ष्मी गुरुङ र भ्वाईस अफ नेपाल सिजन ७ का सेकेण्ड रनर अप पुनम गुरुङ र आधुनिक गजल गायक तिलक गुरुङको साँगीतिक प्रस्तुती रहने निर्णय गरेको छ । त्यसैगरी नेपालदेखि थप कलाकारहरुलाई समेत बोलाउने भएको छ । ।


आकर्षक पुरस्कार सहितको राफल ड्र लगायत विभिन्न आकर्षणहरु समावेश गरेर भव्य बनाउने निर्णय गरेको कार्यक्रममा संघको आजीवन सदस्यहरुलाई ४० प्रतिशत छुटको व्यवस्था गर्ने निर्णय गरेको छ भने विभिन्न ठाउँबाट सशर्त २५ प्रतिशत छुट सहित आउने र जाने यातायात सुविधा मिलाउने निर्णय समेत गरेको छ ।



थप फोटो र समाचारको लागि तलको लिंकमा हेर्नुहोला ।


 
 
 

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page